आजको मासम: कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम - Chaitanya News
  • 2026-06-21
  • 10:23:53
  • आइतबार,आषाढ ०७, २०८३
  • आजको मासम: कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

    आजको मासम: कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।

    हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार, आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधरणतया बदली रहने छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ।

    त्यसैगरी, दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

    महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधरणतया बदली रहनेछ। मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

    आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशका पहाडी तथा तराईका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।