आज प्रतिनिधिसभामा ४ अध्यादेश अघि बढ्दै - Chaitanya News
  • 2026-06-19
  • 13:45:57
  • शुक्रबार,आषाढ ०५, २०८३
  • आज प्रतिनिधिसभामा ४ अध्यादेश अघि बढ्दै

    आज प्रतिनिधिसभामा ४ अध्यादेश अघि बढ्दै

    काठमाडौं– प्रतिनिधिसभामा चार वटा अध्यादेश अगाडि बढ्ने भएको छ। सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

    ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ।

    संसद्को अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद्का (म, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्र् शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसैबेला आएको थियो।

    यसमध्ये प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन्।

    अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्र् शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका छ।

    सम्भावित कार्यसूचीअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन्।