‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन - Chaitanya News
  • 2026-06-18
  • 17:02:43
  • बिहिबार,आषाढ ०४, २०८३
  • ‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन

    ‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन

    काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढीभन्दा बढी उपयोग गर्नु रहेको बताएका छन्।

    आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

    मन्त्री पुनले कृत्रिम बौद्धिकता र सूचना प्रविधिको विकासमा जोड दिएर त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन प्रधानमन्त्री वालेन्द्र शाहले विशेष चासो दिएको उल्लेख गरे।

    अनुसन्धान, रिसर्च र नवप्रवर्तनका कार्य कागजमा लेखेर शोधपत्र प्रकाशन गर्ने विषय मात्रै नभएकाले सरकारले यसको व्यावहारिक उपयोगमा जोड दिने नीति लिएको उनले स्पष्ट पारे।

    मन्त्री पुनले भने, “अहिलेको सरकारको मुख्य उद्देश्य एआई र आईटीको अधिकतम विकास गरी देशलाई अगाडि बढाउने नै हो। त्यसैले प्रधानमन्त्रीज्यूले यसअघि सञ्चार मन्त्रालयमा रहेको आईटी सम्बन्धी सम्पूर्ण जिम्मेवारी अहिले आफू मातहत ल्याउनुभएको छ। यो कार्य प्रधानमन्त्री एक्लैले गर्ने नभई हामी सबै मिलेर फत्ते गर्नुपर्ने राष्ट्रिय दायित्व हो।”

    नवप्रवर्तन र आविष्कारका नयाँ उपलब्धिहरूलाई उद्योगहरूले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै उनले थपे, “कसैले नयाँ प्रविधिको आविष्कार गर्छ भने त्यसको लाभ उद्योगहरूले पाउनुपर्छ। अनुसन्धान र नवप्रवर्तन भनेको कागजमा सीमित राख्नका लागि होइन, उद्योगधन्दाको विकासका लागि हो । तर, अहिले यस पक्षमा पर्याप्त ध्यान दिन सकिएको छैन र सूचना प्रविधिको प्रयोगबाट उद्योगहरूको प्रवर्द्धन हुन्छ भन्ने कुरा स्वयम् उद्योगपतिहरूलाई समेत राम्ररी थाहा छैन।”