काठमाडौं– अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको फिफा विश्वकप –२०२६ मा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ।
अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन्।
उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलको सुरुवातमै मेस्सी एक गोल गरेपनि अफसाइडका कारण मान्यता पाएको थिएन।
यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन। यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह जे मा शीर्ष स्थानमा उक्लिएको छ।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए।
उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन्। चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए।
यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औं खेल खेलेका छन्।