काठमाडौं– नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठे। सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन्।
‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई। जे हुन्छ त्यही गरौंला,’ उनले भनिन्, ‘यदि सत्तापक्षका साथीहरूले हुन्छ, यो मर्यादित छ, राष्ट्रिय अखण्डताको बारेमा छ भन्नुभए राखौंला। यसको निर्णय हुनुपर्छ।’
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए।
उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
यो यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।
कांग्रेस सांसद रेखा कुमारीले प्रधानमन्त्रीको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफलाई उनले ‘केटाकेटीलाई ललिपप देखाए जस्तो’ भएको बताइन्।
‘विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनुभयो। त्यो सबैलाई थाहा छ त्यो ढाकछोप गर्ने मात्रै हो,’ उनले भनिन्, ‘कहिँ पनि नियमावलीअनुसार प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाफ दिने हैन । मन्त्रीले जवाफ दिने भनेको आफ्नो विषयगत विषयमा मात्रै हो।’
यदि यो कार्य मिडिया ट्रायल हो भने आफूहरूले पनि त्यसैअनुसार लिने उनको चेतावनी छ।
प्रधानमन्त्रीको अभिव्यक्ति पश्चात ‘देशमा के कस्ता क्रियाकलाप भइराखेको छ ?’ भनेर ख्याल गर्न उनको आग्रह छ। सुस्तामा भाररीय सीमा सुरक्षा बलको उपस्थिति भएको विषय पनि उठाइन्। दार्चुलामा नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर उडेको समेत उनले संसद् बैठकमा बताइन्।
यसको जवाफ कसले दिन्छ भनेर प्रश्न गरिन्।
यहीँनेर उनले प्रधानमन्त्री बालेनको अभिव्यक्तिउपर गोप्य मतदानको माग गरेकी हुन्।