सडकको क्षमता नहेरी रुट परमिट दिँदा दुर्घटनाको जोखिम बढ्यो : एसएसपी काफ्ले - Chaitanya News
  • 2026-06-16
  • 15:19:28
  • मंगलबार,आषाढ ०२, २०८३
  • सडकको क्षमता नहेरी रुट परमिट दिँदा दुर्घटनाको जोखिम बढ्यो : एसएसपी काफ्ले

    सडकको क्षमता नहेरी रुट परमिट दिँदा दुर्घटनाको जोखिम बढ्यो : एसएसपी काफ्ले

    काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडकको अवस्था, क्षमता र जोखिम मूल्यांकन नगरी सवारी साधनलाई रुट अनुमति दिने अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन्।

    प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सवारी सञ्चालन अनुमति प्रदान गर्दा सडकको क्षमता, भौगोलिक अवस्था तथा सवारी साधनको उपयुक्ततालाई आधार बनाउनुपर्ने आवश्यकता औँल्याए। अव्यवस्थित रुट परमिट प्रणालीले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ थियो।

    एसएसपी काफ्लेले सडकको अवस्था विचार नगरी कठिन भौगोलिक क्षेत्रमा समेत ठूला तथा लामो दूरीका सवारी साधन सञ्चालनको अनुमति दिने गरिएको उल्लेख गरे। मनाङ र मुस्ताङजस्ता हिमाली जिल्लामा सडकको क्षमता अनुसार सवारी साधन छनोट गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

    उनका अनुसार सार्वजनिक यातायात, निजी सवारी तथा दुईपाङ्ग्रे सवारी एउटै मार्गमा सञ्चालन हुँदा सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी नागढुंगा–चितवन तथा फर्पिङतर्फ जाने सडक खण्डमा मालवाहक सवारी, सार्वजनिक बस र निजी सवारी एकै समयमा सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढिरहेको उनले बताए।

    नेपालको सार्वजनिक यातायात प्रणालीमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले ढुवानी व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए। सडकमा सामग्री थुपार्ने तथा अव्यवस्थित ढुवानी गर्ने प्रवृत्तिले पनि ट्राफिक समस्या बढाएको उनको भनाइ थियो।

    ट्राफिक नियम उल्लंघनमा हाल कायम जरिवाना प्रभावकारी नियन्त्रणका लागि पर्याप्त नभएको भन्दै उनले कारबाही रकम बढाउन सुझाव दिए। उल्लंघनको प्रकृति अनुसार न्यूनतम पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना व्यवस्था गर्न सकिने विकल्पबारे विचार गर्नुपर्ने उनले बताए।

    बैठकमा उनले काठमाडौँ प्रवेश गर्ने पश्चिमी नाकातर्फको सडक पूर्वाधारमा देखिएका समस्याबारे पनि जानकारी गराए। नेपाल र भारतबीच मालवाहक सवारीको भार मापदण्ड फरक हुँदा सडकमा क्षति पुगिरहेको उल्लेख गर्दै उनले दुवै देशमा समान भार मापदण्ड लागू गर्नुपर्ने धारणा राखे।

    एसएसपी काफ्लेका अनुसार हाल देशभर ६२ लाख ४९ हजार ७३२ वटा सवारी साधन दर्ता छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब २० लाख सवारी साधन दैनिक सञ्चालनमा रहेका छन् भने हरेक दिन औसत दुई हजार ५०० भारतीय सवारी नेपाल प्रवेश गर्ने गरेका छन्। तर ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्ति करिब दुई हजार ५०० मात्र रहेको उनले जानकारी दिए।