काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
आज (आइतबार) नगर सभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन्।
यस पटक विगत वर्षहरूमाझैँ काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रूपमा लिएको डंगोलले जानकारी दिइन्। परिवर्तित परिवेश र काठमाडौंबासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उनले बताइन्।
नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उनले बताइन्। ‘आगामी आर्थिक वर्ष २०८३–८४ को लागि नगर सभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनबाट संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उनले भनिन्।
काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको उनको भनाइ छ।