धनगढी- सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै चैतन्य पाठशालाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा १४ जना रक्तदाताहरूले रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा योगदान दिएका छन् । पछिल्लो समय विभिन्न अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला रक्तदाताहरूले दिएको रगतले बिरामीहरूको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । रक्तदान गर्ने सबै रक्तदाताहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
रक्तदान कार्यक्रमसँगै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६० भन्दा बढी व्यक्तिहरूले स्वास्थ्य परीक्षण सेवा लिएका थिए । शिविरमा सहभागीहरूलाई स्वास्थ्य अवस्था सम्बन्धी परामर्श, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक सुझाव प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षणबाट धेरै व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गरेको चैतन्य पाठशालाकी स्कुल नर्स गायत्री उपाध्याले बताईन ।
चैतन्य पाठशालाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ । विद्यालयले समाजसँगको सहकार्यलाई अझ बलियो बनाउँदै समुदायको हित र विकासका लागि थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरले समाजमा सहयोग, सहकार्य र मानवताको भावनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।