काठमाडौं– अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ। क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो।
अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे। खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए।
७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए। ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन। खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो। तर, सफल भएन।
यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। टर्की र पाराग्वे अंकविहीन छन्।
यसअघि आजै भएका खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा लमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए।
आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ।