काठमाडौँ– नेपाली सेनाले उत्कृष्ट कार्यसम्पादन गरेका ३७ जना सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानसेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरेका हुन्।
विज्ञप्तिअनुसार सम्मानित सैनिकहरूलाई उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरेको आधारमा छनोट गरिएको हो। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा सैनिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पन्न गरेका राष्ट्रसेवक सैनिकहरूको योगदानको कदरस्वरूप प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको सेनाले जनाएको छ।
नेपाली सेनाले विभिन्न अवसरमा संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा अधिकृतहरूलाई सम्मान गर्दै आएको छ। यस प्रकारका सम्मानले पेशागत जिम्मेवारीप्रति थप उत्प्रेरणा र उत्तरदायित्वबोध विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मान वितरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य सैनिक कर्मचारीहरूको उपस्थिति रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।