काठमाडौं– निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ।
अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथे। अब भने माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था थपिएको हो।
रायका लागि कानून मन्त्रालयमा पुगेको विधेयकको मस्यौदामा माथिल्लो तहका अधिकारी वा सुपरभाईजरका वारेमा तल्लो तहका कर्मचारीहरुले पनि मूल्यांकन गरेर अंक दिने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकमा भएको व्यवस्था अनुसार, सुपरभाइजरहरुले मातहतका कर्मचारीहरुको कार्यदक्षता, क्षमता र अनुशासन मूल्यांकन गरेर १५ अंक दिन पाउने व्यवस्था छ। तर, मातहतका कर्मचारीहरुले आफ्नो हाकिमको ५ अंक मात्रै मूल्यांकन गर्न पाउने भएका छन्। मातहतका कर्मचारीहरुले दिएको अंकको औसत निकालेर ५ अंकभारमा प्राप्तांक निकालिन्छ र कार्यसम्पादन मूल्यांकनमा जोडिन्छ।
अंक मापन गर्ने तरिका तल्लो तहका कर्मचारीहरुले दिएको पृष्ठपोषण र प्रतिक्रियामा आधारित हुनेछ। समन्वय, मातहतका कर्मचारीहरुलाई गर्ने व्यवहार, विनम्रता, समाधानमुखी स्वभाव आदि विषयवस्तुलाई मूल्यांकन गरेर तल्लो तहका कर्मचारीहरुले हाकिमको अंक दिन पाउने व्यवस्था प्रस्तावित भएको हो।