रुपन्देही– लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त ५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए। पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो।