काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन्।
आज (आइतबार) मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन्।
मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो। किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुँदा थियो। यसलाई कसरी कम्पिलिट गर्ने ? हामीलाई माथि बाटै सम्माननीयज्यू (प्रधानमन्त्री) को मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेड प्वाइन्ट्स थियो। त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबै उतातिर फोकस भयौं,’ मन्त्री मेहताले भनिन्।
आफ्नो मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन्।
‘प्रेस एडभाईजरी हामीले टाईम टू टाईम यसरी मिटिङ राख्नुपर्ने। यसमा हाम्रो ध्यान नै गएन। त्यसका लागि हामी क्षमाप्राथी नै छौं। यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो। हाम्रो प्रवक्ताले यो भनिसक्नु भयो,’ उनले भनिन्, ‘सम्भव भएपछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने छौ। हजुरहरूको जति पनि गुनासाहरू छ। फिडब्याक र एडभाईसहरू छ। सचिव र सचिवालयले नोट गरेको छ।’
मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरूलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि उनको भनाइ छ।
‘सुधारका कुराहरू धेरै आएका छन्। हाम्रा कमीकमजोरीहरू, हाम्रा स्ट्रेन्थहरू के छन ? त्यो हामी सबैले बुझेका छौँ। यसलाई आत्मासात गर्दैै हामी पक्कै अघि बढ्नेछौं,’ मन्त्री मेहेताले भनिन्।