बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन ऊर्जा मन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-06-05
  • 14:31:01
  • शुक्रबार,जेठ २२, २०८३
  • बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन ऊर्जा मन्त्रीको निर्देशन

    बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन ऊर्जा मन्त्रीको निर्देशन

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन्।

    आज (शुक्रबार) प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समावेश आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न हुने गरी कार्यान्वयन संयन्त्र सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने नीतिगत वा प्रशासनिक जटिलता समाधानका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व भने प्राधिकरण व्यवस्थापनले नै लिनुपर्ने बताए।

    उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा प्रसारण लाइन, सबस्टेसन तथा विद्युत् पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै आवश्यक स्रोत सुनिश्चित गरेको छ। विनियोजित बजेटलाई परिणाममुखी ढंगले परिचालन गर्दै सेवा प्रवाहमा सुधार, विद्युत् आपूर्तिको गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नु प्राधिकरणको प्रमुख जिम्मेवारी रहेको उनले बताए।

    मन्त्री श्रेष्ठले मातहतका निकायलाई समयबद्ध कार्ययोजनाका आधारमा परिचालन गर्न आग्रह गर्दै प्राधिकरणका अधिकारीहरूको अनुभव, दक्षता र संस्थागत क्षमताको अधिकतम उपयोग हुनुपर्ने धारणा राखे। समस्या पहिचानमा मात्र सीमित नरही समाधानका लागि कार्यान्वयनयोग्य प्रस्ताव व्यवस्थापन तहबाट आउनुपर्नेमा पनि उनले जोड दिए।

    उनले संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहसँगै प्रतिफल दिने लगानीका क्षेत्रलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए। आगामी वर्षहरूमा अघि बढाइने रणनीतिक तथा प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट दृष्टिकोण र निष्कर्ष आवश्यक रहेको उनको भनाइ थियो।