काठमाडौँ– आज तराईका केही सहरहरूमा अत्यधिक गर्मी भई ‘तातो हावाको लहर’ अर्थात् ‘लु’ चल्ने देखिएको छ भने पहाडी भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार तराईका प्रमुख सहरहरूमा गर्मीले जनजीवन थप प्रभावित हुने देखिएको छ। विभागको तथ्याङ्क अनुसार आज दिउँसो नेपालगञ्ज, सिमरा र जनकपुरमा तातो हावाको लहर चल्नेछ। देशकै सबैभन्दा बढी गर्मी आज नेपालगञ्जमा हुने अनुमान गरिएको छ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ।
त्यसैगरी, सिमरा र जनकपुरको अधिकतम तापक्रम पनि ३७ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहनेछ। यसका साथै धनगढी, वीरेन्द्रनगर, घोराही, भैरहवा र विराटनगरमा पनि आजको दिनलाई ‘तातो दिन’ को रूपमा वर्गीकरण गर्दै विभागले सतर्क गराएको छ। जसमध्ये धनगढी र भैरहवाको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
एकातिर तराईमा उखरमाउलो गर्मी छ भने अर्कोतिर पहाडी तथा हिमाली जिल्लाहरूमा भने वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा आज दिउँसो र राति दुवै समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। दिउँसो काठमाडौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने र २० प्रतिशत वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।
यसैगरी पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा दिउँसो मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। डडेल्धुरा, दिपायल, जुम्ला र जोमसोममा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। धरानमा भने दिउँसो आंशिक बादल मात्र लाग्नेछ।
रातिको समयमा पनि अधिकांश पहाडी सहरहरूमा वर्षाको सम्भावना कायमै रहने विभागले जनाएको छ। राति काठमाडौँसहित डडेल्धुरा, दिपायल, धनगढी, जुम्ला, ओखलढुङ्गा र जोमसोममा हल्का वर्षा हुनेछ भने पोखरा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मध्यम वर्षा हुनेछ।
तराईका वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा भने राति मौसम आंशिक बदली मात्र हुनेछ। रातिको समयमा देशकै सबैभन्दा कम तापक्रम जोमसोममा ९ देखि ११ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।
![]()