आजको मौसम पूर्वानुमान: हिमाली–पहाडी क्षेत्रमा वर्षा सम्भावना, तराईमा गर्मी बढ्ने पूर्वानुमान - Chaitanya News
  • 2026-06-02
  • 09:38:40
  • मंगलबार,जेठ १९, २०८३
  • आजको मौसम पूर्वानुमान: हिमाली–पहाडी क्षेत्रमा वर्षा सम्भावना, तराईमा गर्मी बढ्ने पूर्वानुमान

    आजको मौसम पूर्वानुमान: हिमाली–पहाडी क्षेत्रमा वर्षा सम्भावना, तराईमा गर्मी बढ्ने पूर्वानुमान

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिन देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको छ। साथै तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने पूर्वानुमान पनि गरिएको छ।

    हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय छ, जसका कारण मौसममा परिवर्तन देखिएको महाशाखले जनाएको छ ।

    यसै प्रभावका कारण आज राति हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।

    त्यस्तै, मंगलबार र बुधबार देशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ।

    सो अवधिमा हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

    यसैबीच, भोलि मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिन (हट डे) हुने सम्भावना देखिएको छ भने पर्सि पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ।