काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका तराई र पहाडी भू(भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।