आजको मौसम: न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, आज यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-30
  • 07:53:24
  • शनिबार,जेठ १६, २०८३
  • आजको मौसम: न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, आज यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    आजको मौसम: न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, आज यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।

    हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ।

    आज बिहान कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको थियो ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू– भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाइएको छ।

    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

    त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

    देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।