बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन पेश गर्न आग्रह - Chaitanya News
  • 2026-07-12
  • 12:37:10
  • आइतबार,आषाढ २८, २०८३
  • बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन पेश गर्न आग्रह

    बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन पेश गर्न आग्रह

    काठमाडौँ– नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको छ। समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गर्न अनुरोध गरेको हो।

    सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी जेठ १९ गतेभित्र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दर्ता गराउनुपर्नेछ। अध्यक्ष पद हाल रिक्त रहेकाले नियुक्तिका लागि नाम सिफारिस गर्न प्रक्रिया सुरु गरिएको समितिले जनाएको छ।

    अध्यक्ष पदका लागि उम्मेदवारले बीमा, मौद्रिक तथा बैकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

    यसैगरी आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। उच्च नैतिक आचरण भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन लगायतका फौजदारी प्रकृतिका कसूरमा सजाय नपाएको तथा कालोसूचीमा नपरेको व्यक्ति मात्र योग्य हुने जनाइएको छ। यदि कुनै व्यक्ति कालोसूचीबाट फुकुवा भएको भए त्यस्तो फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्ने शर्त पनि राखिएको छ।