काठमाण्डौ – लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ। आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो। जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए। बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुईरदुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए। जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई–दुई विकेट लिए।
आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ। जनकपुरले अब भोलि सोमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ। इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ।