काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।