आजको मौसम पूर्वानुमानः हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा–हिमपात, तराईमा तातो हावा - Chaitanya News
  • 2026-05-25
  • 09:21:56
  • सोमबार,जेठ ११, २०८३
  • आजको मौसम पूर्वानुमानः हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा–हिमपात, तराईमा तातो हावा

    आजको मौसम पूर्वानुमानः हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा–हिमपात, तराईमा तातो हावा

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

    यस्तै मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्यांगसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    यसैगरी महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ।

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्यांग सहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको छ।