आजको मौसम: सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने - Chaitanya News
  • 2026-05-24
  • 09:19:00
  • आइतबार,जेठ १०, २०८३
  • आजको मौसम: सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने

    आजको मौसम: सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएका जानकारी आनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको दोहोरो प्रभाव परेको छ। जसको कारणले हाल देशभर सामान्यतया बदली रहेको छ भने आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

    यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, मधेस लगायत बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने मधेस लगायत अन्य प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

    आज राति कोशी प्रदेश लगायत अन्य हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकीका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र कर्णालीका पहाडी–हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन र तराई भू–भागमा तातो लहर ९लु० चल्ने सम्भावना छ। विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अत्यधिक गर्मी हुने भएकोले अत्यावश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।