काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल रही बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ।
गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।
यस्तै महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर चल्ने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।