काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला–बाजुरा सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद शीघ्र टुंग्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। उक्त घटनामा गोपी हमाल सहितको टोलीमाथि दुर्व्यवहार भएको उल्लेख गरिएको थियो।
सांसद खनालले साइपाल क्षेत्र पर्यटकीय सम्भावना, जडीबुटी तथा वन्यजन्तु स्रोतका हिसाबले महत्वपूर्ण रहेकाले त्यहाँको सुरक्षा र व्यवस्थापनमा राज्यको उपस्थिति आवश्यक रहेको बताए। उनले सो क्षेत्रमा लामो समयदेखि अवैध रूपमा जडीबुटी तथा वन्यजन्तु ओसारपसार हुँदै आएको सूचना प्राप्त भएको उल्लेख गरे।
उनका अनुसार प्रहरी चौकी स्थापना तथा पर्यटन गतिविधि विस्तारका प्रयास भएपछि त्यसबाट प्रभावित हुने समूहले स्थानीय जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार गरेको खबर आएको छ।
निर्वाचित जनप्रतिनिधिहरू विकास, पर्यटन प्रवर्द्धन तथा स्थानीय संरचना सुदृढीकरणमा सक्रिय हुँदा असुरक्षित वातावरण सिर्जना हुनु चिन्ताको विषय भएको उनले बताए।
सांसद खनालले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई रानीसैन क्षेत्रको सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरे। साथै, नागरिकको सुरक्षाको प्रत्याभूति र स्वतन्त्र रूपमा जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।