आत्म–अन्वेषणद्वारा नैतिक बलको विकास   - Chaitanya News
  • 2026-05-19
  • 18:51:37
  • मंगलबार,जेठ ०५, २०८३
  • आत्म–अन्वेषणद्वारा नैतिक बलको विकास  

    आत्म–अन्वेषणद्वारा नैतिक बलको विकास  

    तोमनाथ उप्रेती;

     उपसचिव, नेपाल सरकार:

    आत्म–अन्वेषण जसले व्यक्तिको चेतना, मूल्य र नैतिक दृष्टिकोणलाई पुनःपरिभाषित गर्छ। बाह्य व्यवहार वा सामाजिक नियमहरू पालन गर्ने मात्रले मानिसको चरित्र पूर्ण रूपमा परिष्कृत हुँदैन। वास्तविक नैतिक बल तब जन्मिन्छ जब व्यक्ति आफ्नै भित्री संसारसँग संवाद गर्छ। आफ्ना विचार, भावना, इच्छाहरू र प्रलोभनहरूको निरीक्षण गर्छ। यस दृष्टिकोणले पूर्वीय दर्शनमा प्रतिविम्बित “आत्मज्ञान” र “आत्मबोध”को महत्वलाई पुष्टि गर्दछ।

    नैतिक बल बाह्य नियन्त्रण वा सामाजिक दबाबबाट उत्पन्न हुँदैन। यदि व्यक्ति नियमको डर वा पुरस्कारको लालचले काम गर्छ भने त्यसले स्थायी नैतिकता सिर्जना गर्न सक्दैन। तर जब व्यक्ति आफ्नै अनुभव, मूल्य र कर्मको परिणामबारे सचेत हुन्छ, तब नैतिक बल आन्तरिक रूपमा विकसित हुन्छ। आत्म–अन्वेषणले व्यक्ति आफ्नो कमजोरी, त्रुटि र दोषलाई चिन्ने अवसर दिन्छ।

    आत्म–अन्वेषणद्वारा नैतिक बलको विकास व्यवहारिक जीवनको आवश्यक आधार हो। यसले व्यक्तिलाई आफ्ना निर्णय, क्रिया र प्रतिक्रियामा स्थायित्व, संयम र विवेक प्रदान गर्दछ। जब मानिस आफ्नो भित्री चेतना र मूल्यसँग सुसम्बद्ध हुन्छ, तब उसले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि सही मार्ग अपनाउन सक्षम हुन्छ। यही कारणले, नैतिक बलको वास्तविक श्रोत भित्री जागरूकता र आत्म–अन्वेषणमा निहित छ।

    मानव जीवनको सार्थकता भौतिक सफलता वा सामाजिक प्रतिष्ठामा सीमित छैन । यसको मर्म आत्मचेतना र आध्यात्मिक मूल्यमा निहित छ। आचरण, जसले व्यक्तिको स्वभाव, निर्णय, व्यवहार र अन्ततः समाजमा उसको प्रभाव निर्धारण गर्छ, त्यो  बाह्य अनुशासन वा कानुनी दण्डद्वारा मात्र स्थायी रूपले सुधार गर्न सकिंदैन। आचरणको वास्तविक, दीर्घकालीन रूपान्तरणको मूल श्रोत भनेको आत्मचेतनाअध्यात्म हो।

    जब मानिस आत्मचेतनाको स्तरमा पुग्दछ, तब उसले बाह्य विश्वसँगको सम्बन्ध मात्र होइन, आफूभित्रको शून्यता, लोभ, अहंकार र मोहको जरा पनि देख्न थाल्दछ। यही आत्मावलोकनले उसलाई परिवर्तनको दिशामा धकेल्छ। बाहिरी नियमहरूले  व्यवहार नियन्त्रण गर्न सक्छन्, तर अध्यात्मले आत्माको उत्प्रेरणा बदल्दछ। जब उत्प्रेरणा नै परिवर्तन हुन्छ, तब कर्म स्वतः नै धर्ममय हुन्छ।

    गीता अध्याय ६ मा कृष्णले अर्जुनलाई भन्छन्—”उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।” अर्थात्, आफ्नो आत्माबाट आफैलाई उन्नत गर, अधोगति नगर। यहाँ आत्म उन्नति भन्ने कुरा नै चेतनाको विस्तार होजो बाह्य इच्छाहरूबाट नभएर, आन्तरिक विवेकबाट सञ्चालित हुन्छ। यही विवेकमा आधारित चेतनाले नै नैतिक आचरणको मौलिक जग निर्माण गर्छ।

    अध्यात्म कुनै एक धर्म विशेषको आडम्बर होइन यो त जीवनको मूलभूत सत्यसँगको संवाद हो। जब मानिस स्वयम्लाई आत्माको रूपमा बुझ्न थाल्दछ जसको प्रकृति नै शान्ति, करुणा, दया, क्षमा र संयम हो तब आचरणको परिवर्तन  देखावटी हुँदैन, त्यो जीवन पद्धतिको आधार बन्छ।

    आजको संकटग्रस्त समाजमा, जहाँ नैतिक विचलन, स्वार्थप्रेरित व्यवहार र मूल्यहीनता बढ्दो छ। यसको समाधानको मूल खानी विधि आत्मचेतनामा आधारित आध्यात्मिक शिक्षाको पुनरुत्थान हो। नियमहरू व्यवहारलाई निर्देशित गर्न सक्छन्, तर  चेतनाको प्रकाशले नै आत्मालाई दिशा दिन सक्छ। यही आत्मिक क्रान्ति नै मानव सभ्यताको साँचो जागरण हो।

    जीवनमा चेतनाको प्रकाश आउँदा मात्र आचरणमा क्रान्ति सम्भव हुन्छ। जब व्यक्ति आफ्नो अन्तरमनलाई जागरुक पार्छ र आध्यात्मिक मूल्यहरू आत्मसात् गर्छ, तब उसको व्यवहारमा स्वभाविक परिवर्तन आउँछ। यस्ता मूल्यहरू सत्य, करुणा, सहिष्णुता, विनम्रता र सेवा भाव जीवनको आधारशिला बन्न पुग्छन्। चेतनाले भरिपूर्ण जीवनले मात्र बाह्य स्वार्थ र अहंकारबाट मुक्त भएर साँचो आनन्द र शान्ति प्राप्त गर्न सक्छ।जब जीवन अध्यात्मिक चेतनाले सञ्चालित हुन्छ, त्यसको प्रभाव सम्पूर्ण समाज, प्रकृति र मानवीय सम्बन्धमा समावेशी र सकारात्मक रूपान्तरणको कारक बन्छ।

    आत्म–संयम, विवेक र सेवाभावनाले सञ्चालित व्यक्ति नै वास्तविक परिवर्तनको संवाहक हो। आध्यात्मिक चेतनाको प्रकाशमा नहिँड्ने समाज धनको सुसज्जा त देखिन्छ, तर मानवीय मूल्यविहीन हुन्छ। त्यस्तो समाजको दीर्घकालीन अस्तित्व संकटमा पर्छ। त्यसैले चेतनाको क्रान्ति र आध्यात्मिक मूल्यहरूको अवलम्बन नै जीवनको सार्थकता, समाजको स्थायित्व र राष्ट्रको समृद्धिको सुनिश्चित मार्ग हो।

    अध्यात्मिक चेतना नै आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यक्तिलाई स्वार्थ र अहंकारबाट मुक्त गर्दै सेवा र सत्यप्रेमको शिखरमा उभ्याउँछ। व्यक्तिले जब जीवनमा आध्यात्मिक मूल्यहरू आत्मसात गर्छ, तब ऊ समाजमा परिवर्तन ल्याउने प्रेरक शक्ति बन्छ र समाजमा शान्ति र समृद्धि प्रस्फुटित हुन्छ। यसरी अध्यात्ममा आधारित जीवन यापनले मात्र व्यक्ति र राष्ट्रको समग्र विकास सम्भव बनाउँछ।

    आध्यात्मिक दृष्टिकोणबाट जीवन व्यवस्थापन बाह्य ऐश्वर्यको झिल्कोमा हराउने होइन, अन्तरात्माको प्रकाशमा उभिएर जीवनलाई सञ्चालन गर्ने चेतनाको सर्वोत्तम अभ्यास हो। जब जीवन स्वार्थ, लोभ र अहंकारको आडमा निर्देशित हुन्छ, तब आचरणमा विकृति, विचारमा विसङ्गति र सम्बन्धमा विच्छेद जन्मिन्छ। यस्ता अन्धकारहरूलाई पन्छाउने एकमात्र उपाय अध्यात्मिक दृष्टिकोण हो, जसले चेतना र विवेकलाई उजागर गरेर आत्म–अनुशासन र आत्म–परिष्कारमा अभिप्रेरित गर्छ।

    अध्यात्मिक दृष्टिले जीवनलाई व्यवस्थापन गर्दा योग र ध्यानको माध्यमबाट मनलाई स्थिर बनाइन्छ, जसले विचारलाई शुद्धता र व्यवहारलाई शालीनता प्रदान गर्छ। यस्तो दृष्टिले व्यक्ति आफ्ना कर्तव्यप्रति निष्ठावान्, समाजप्रति उत्तरदायी र राष्ट्रप्रति समर्पित बन्ने मार्ग प्रशस्त गर्छ। आध्यात्मिक चेतना आत्माभिमुख आचरणको मार्गमा सहिष्णुता, करुणा र विनयको विकास गराउँदै व्यक्ति र समाजबीचको सम्बन्धलाई समृद्ध बनाउँछ।

    जीवन कुनै यान्त्रिक प्रणाली होइन यो चेतनाको तरंगमा बगिरहेको एक अनन्त प्रवाह हो। जब जीवनको मूल आधार भौतिक लोभ, इन्द्रियासक्ति र स्वार्थमा जकडिन्छ तब व्यवहार विकृत, संस्कार विस्मृत र आचरण प्रदूषित बन्छ। यिनै अन्धकारहरूबाट मुक्तिको मार्ग भनेको अध्यात्म हो।अध्यात्म आत्माको स्वरुप पहिचान गर्ने आन्तरिक दृष्टिकोण हो।

    अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रो मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।

    आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन । आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ ।

    अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ । संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले अवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ । संस्कार र व्यवहारलाई सुधार्ने क्रममा अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ। यसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्न मद्दत गर्दछ ।

    अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वहरूको सही मूल्यांकन गर्न मद्दत गर्दछ । अध्यात्मिक शिक्षाले व्यक्तिलाई सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता, आस्था र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा लाग्न प्रेरित गर्दछ। जब एक व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा आचरणका दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ ।अध्यात्मिक संस्कारहरूले मानिसको अन्तरात्मालाई शुद्ध बनाउँछ। शुद्ध मन र विचारले मात्र व्यक्ति आफ्नो व्यवहार र आचरण सुधार्न सक्दछ। संस्कारका यी मूलतत्त्वहरूले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछन्, जसका कारण नैतिक समाजको निर्माण सम्भव हुन्छ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई जीवनका सही उद्देश्यहरूको खोजीमा मद्दत गर्दछ र उनले आफ्ना कार्य र आचरणलाई साँचो मार्गमा स्थापित गर्न सक्छन्।