काठमाडौँ– बदलिँदो सुरक्षा चुनौती र प्रविधिमा आधारित अपराधको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले आगामी तीन वर्षका लागि नयाँ रणनीतिक योजना सार्वजनिक गरेको छ। “नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५” नाम दिइएको उक्त योजनाले प्रहरी संगठनलाई परम्परागत संरचनाबाट डिजिटल, विश्लेषणात्मक र प्रविधिमैत्री प्रणालीतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको योजनामा साइबर अपराध, आर्थिक अपराध, डिजिटल फरेन्सिक तथा अन्तरदेशीय संगठित अपराध अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), आधुनिक अनुसन्धान प्रणाली तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई प्रहरी कार्यसम्पादनको केन्द्रमा राख्ने रणनीति प्रस्तुत गरिएको छ।
कार्यक्रममा दानबहादुर कार्की ले अबको प्रहरी सेवा केवल परम्परागत गस्ती र अनुसन्धानमा सीमित नरहने उल्लेख गर्दै प्रविधि र विश्लेषणमा आधारित प्रहरी संयन्त्र निर्माण आवश्यक भएको बताए। उनका अनुसार नागरिकको अपेक्षा, प्रविधिको तीव्र विस्तार र अपराधको बदलिँदो स्वरूपले प्रहरी संगठनलाई नयाँ ढाँचामा रुपान्तरण गर्न बाध्य बनाएको छ।
रणनीतिक योजनाअन्तर्गत डिजिटल माध्यमबाट उजुरी दर्ता, निगरानी र समाधान प्रणाली विस्तार गरिनेछ। सेवा प्रवाहलाई छिटो, पारदर्शी र पहुँचयोग्य बनाउन एकीकृत डिजिटल प्लेटफर्म निर्माण गर्ने लक्ष्यसमेत लिइएको छ। साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा हिंसापीडित लक्षित विशेष सेवा प्रणाली विस्तार गर्ने योजना पनि समेटिएको छ।
नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउने, अपराध ‘हटस्पट’ पहिचान गरी वैज्ञानिक विश्लेषणमा आधारित प्रहरी परिचालन गर्ने तथा अनुसन्धान क्षमतामा प्राविधिक दक्षता वृद्धि गर्ने नीति अघि सारेको जनाएको छ।
प्रहरी नेतृत्वका अनुसार रणनीतिक योजना कार्यान्वयनका लागि पर्याप्त बजेट, सरकारी समन्वय र प्रविधिमा निरन्तर लगानी अपरिहार्य हुनेछ। योजना आगामी आर्थिक वर्षदेखि चरणबद्ध रूपमा लागू गरिने तथा यसको प्रगति नियमित समीक्षा प्रणालीमार्फत मूल्यांकन गरिने जानकारी पनि दिइएको छ।
कार्यक्रममा अविनारायण काफ्ले र राजेन्द्रप्रसाद भट्ट ले बदलिँदो अपराध प्रवृत्ति र डिजिटल सुरक्षाका चुनौती सम्बोधन गर्न संगठनात्मक सुधार र प्रविधिमैत्री प्रहरी प्रणाली अपरिहार्य भएको बताएका थिए।
नेपाल प्रहरीले “नवप्रवर्तन, इमानदारी र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने नारासहित रणनीतिक योजना कार्यान्वयनमा लैजाने जनाएको छ।