काठमाडौँ– प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बहुलवादी लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै फरक राजनीतिक दृष्टिकोणलाई सम्मान गर्ने बताएका छन्।
उनका अनुसार आर्थिक वृद्धि, रोजगारी विस्तार, प्रतिव्यक्ति आय वृद्धि, सामाजिक न्याय र अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिजस्ता विषयमा व्यापक सहमति भए पनि ती उद्देश्य हासिल गर्ने कार्यदिशामा भने मतभेद स्वाभाविक रहेको छ।
अर्थमन्त्री वाग्लेले पछिल्ला तीन दशकको शासकीय अभ्यास, नीतिगत संरचना र राजनीतिक संस्कारप्रति जनस्तरमा असन्तुष्टि बढेकै कारण राजनीतिक तथा सामाजिक रूपान्तरणको माग तीव्र बनेको उल्लेख गरे। उनले विगतको कुशासनले राज्य व्यवस्था, अर्थतन्त्र र नागरिक जीवनमा ठुलो प्रभाव पारेको टिप्पणी गर्दै सरकार सुधारमुखी एजेन्डासहित अघि बढेको बताए।
उनले सुशासन, संस्थागत सुधार र प्रशासनिक थिति बसाल्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको दाबी गरे। निर्वाचनअघि सार्वजनिक गरिएको ‘रूपान्तरणका सय आधार’ नामक प्रतिबद्धता पत्र, त्यसपछि ल्याइएको शासकीय सुधार मार्गचित्र तथा वर्तमान नीति तथा कार्यक्रम सोही दृष्टिकोणअनुसार तयार गरिएको उनको भनाइ थियो।
विपक्षी दलतर्फ संकेत गर्दै अर्थमन्त्री वाग्लेले फरक नीति र दृष्टिकोणलाई जनताबाट अनुमोदन गराउन आगामी निर्वाचनसम्म प्रतीक्षा गर्नुपर्ने टिप्पणी गरे।
संविधानप्रतिको प्रतिबद्धतामाथि उठाइएका प्रश्नको जवाफ दिँदै उनले आवश्यक संशोधन भए पनि संवैधानिक व्यवस्थाअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट पारे। संविधान संशोधनका लागि संविधानमै उल्लिखित धाराहरूको व्यवस्था अनुरूप अगाडि बढ्ने सरकारको धारणा रहेको उनले बताए।