काठमाडौं– श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ। आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे।
हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो।
सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुनः दबाब दिए।
‘केन्द्रीय सरकार खोइ ? चैतमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ। आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरूमा पुगेका छैन,’ उनले भने, ‘त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरू उडाएको छ। यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ। यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौं। यो जनताको आवाजहरू नसुनेको कुराहरू अब चाँही सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु।’
सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाइ नगरेको गुनासो पनि गरे।