आजको मौसम: पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, पाँच प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-19
  • 09:48:34
  • मंगलबार,जेठ ०५, २०८३
  • आजको मौसम: पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, पाँच प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम: पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, पाँच प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अहनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    यस्तै आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणता बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणता बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।