‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ - Chaitanya News
  • 2026-05-17
  • 13:44:08
  • आइतबार,जेठ ०३, २०८३
  • ‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’

    ‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’

    काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन्।

    बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित ले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक रूपमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ उन्मुख गराएको उल्लेख गरिन्।

    उनका अनुसार दुवै नेताले राजनीति जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको धारणा स्थापित गर्दै जनविश्वासलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास अघि बढाउनुपर्ने मान्यता बलियो बनाएका थिए।

    भण्डारीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको जनताको बहुदलीय जनवाद नेपाली सामाजिक संरचना र राजनीतिक परिवेश अनुकूल विकसित विचार भएको बताइन्। उनले यसलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको धारणा व्यक्त गरिन्।

    उनले उक्त सिद्धान्तले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै पार्टीलाई जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको पनि उल्लेख गरिन्।