आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकामाथि नेपालको शानदार जित - Chaitanya News
  • 2026-05-16
  • 17:19:06
  • शनिबार,जेठ ०२, २०८३
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकामाथि नेपालको शानदार जित

    आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकामाथि नेपालको शानदार जित

    काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ।

    अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो।

    ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले। उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

    आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए। इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

    स्मितले शेहान जयसुरियासँग दोस्रोे विकेटका लागि शतकीय साझेदारी गरेका थिए। शेहान ५२ बलमा ५० रन बनाएर आउट भए। शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए।

    १२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो। नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन्।

    मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए। शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे।

    बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ।