काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले नेपालमा रासायनिक मलको दीर्घकालीन समाधानका लागि विद्युत् आधारित ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादनको अवधारणातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका छन्।
आज (शुक्रबार) बसेको प्रतिनिधि सभाअन्तर्गत कृषि समितिको बैठकमा धारणा राख्दै उनले किसानहरूले मलको माग गर्दै सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यकता औँल्याए।
उनले कृषक समुदायलाई देशको खाद्य सुरक्षाको आधार स्तम्भका रूपमा उल्लेख गर्दै उत्पादनमा संलग्न नागरिकले आवश्यक कृषि सामग्रीका लागि राज्यसमक्ष बारम्बार आग्रह गर्नुपर्ने अवस्था दुःखद भएको टिप्पणी गरे। सरकार अहिले किसानको पक्षमा रहेको दाबी गर्दै उनले त्यसलाई व्यवहारमा उतार्न कृषि मन्त्रालयले प्रभावकारी र दक्ष ढंगले काम गर्नुपर्ने बताए।
सांसद खनालले कृषि क्षेत्रमा आधुनिक प्रविधि र ऊर्जाको उपयोग बढाउनुपर्नेमा जोड दिँदै इजरायलको उदाहरण प्रस्तुत गरेका थिए। सीमित प्राकृतिक स्रोत हुँदाहुँदै पनि इजरायलले कृषि उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा अझ ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
उनले पहाड, हिमाल र तराईजस्ता विविध भू–भाग भएको नेपालले कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने पर्याप्त आधार रहेको धारणा राखे।
नेपाललाई कृषिप्रधान देश भनिए पनि किसानहरू अझै मल र बीउका लागि राज्यसमक्ष निर्भर रहनुपर्ने अवस्था कायम रहनु विडम्बनापूर्ण भएको उनले बताए। माटोसँग प्रत्यक्ष जोडिएर देशको खाद्य आवश्यकता पूरा गर्ने कृषक समुदायले आधारभूत कृषि सामग्री प्राप्तिका लागि संघर्ष गर्नुपरेको विषयप्रति उनले चिन्ता व्यक्त गरे।