तीन प्रदेश कार्यालय र एक स्थानीय तहले गराएनन् लेखापरीक्षण - Chaitanya News
  • 2026-05-15
  • 17:35:03
  • शुक्रबार,जेठ ०१, २०८३
  • तीन प्रदेश कार्यालय र एक स्थानीय तहले गराएनन् लेखापरीक्षण

    तीन प्रदेश कार्यालय र एक स्थानीय तहले गराएनन् लेखापरीक्षण

    काठमाडौँ– महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ६३औँ वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्दै प्रदेश र स्थानीय तहको लेखापरीक्षणको विस्तृत विवरण बाहिर ल्याएको छ।

    प्रतिवेदनअनुसार यस वर्ष ७ वटा प्रदेश अन्तर्गतका १ हजार १२४ निकायको कुल ३ खर्ब २० अर्ब ३० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ।

    प्रदेश कार्यालयतर्फ गत वर्षसम्म २४ वटा एकाइको २ अर्ब २३ करोड रुपैयाँ लेखापरीक्षण हुन बाँकी रहेकोमा यस वर्ष ४ वटा एकाइले १ अर्ब २२ करोड रुपैयाँको लेखापरीक्षण गराएका छन्। यद्यपि, अझै पनि ३ वटा प्रदेश कार्यालयहरूले यस वर्ष लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ।

    लेखापरीक्षणका क्रममा देखिएका प्रमुख कैफियत र विवरणहरूलाई प्रतिवेदनको परिच्छेद ३ मा विस्तृत रूपमा समावेश गरिएको छ। यसैगरी स्थानीय तहतर्फ यस वर्ष ७२१ वटा निकायको कुल ११ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न गरिएको छ।

    जसमा ४ वटा महानगरपालिका, १० वटा उपमहानगरपालिका, २६१ वटा नगरपालिका र ४४६ वटा गाउँपालिका रहेका छन्। स्थानीय सरकारहरूमध्ये १ वटा स्थानीय तहले भने यस वर्ष आफ्नो लेखापरीक्षण गराउन बाँकी रहेको महालेखाको प्रतिवेदनले औँल्याएको छ।