काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थान तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही जिल्लामा हुरीबतास, असिना, मेघगर्जन र चट्याङको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।