नैतिकता राष्ट्रको स्थिरता, विकास र सामाजिक सद्भावको मूल आधार - Chaitanya News
  • 2026-04-26
  • 19:38:39
  • आइतबार,बैशाख १३, २०८३
  •  नैतिकता राष्ट्रको स्थिरता, विकास र सामाजिक सद्भावको मूल आधार

     नैतिकता राष्ट्रको स्थिरता, विकास र सामाजिक सद्भावको मूल आधार

    तोमनाथ उप्रेती:

    नैतिकता राष्ट्रको स्थिरता, विकास र सामाजिक सद्भावको मूल आधार पनि हो। जब राष्ट्रले आफ्ना नीति, कानून, नेतृत्व र सामाजिक संरचना नैतिक दृष्टिकोणबाट संचालन गर्छ, तब मात्र त्यसले दीर्घकालीन विकास, न्यायपूर्ण समाज र शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न सक्छ। नैतिकता बिना कुनै पनि राष्ट्र अस्थिर, भ्रष्ट र द्वन्द्वपूर्ण बन्न सक्छ। अतः राष्ट्र निर्माणमा नैतिक मार्गदर्शनको महत्व अपरिहार्य छ।

    नैतिकतामा आचार, ईमानदारी, सहिष्णुता, पारदर्शिता र जिम्मेवारीको अभ्यास पनि समावेश हुन्छ। राष्ट्रको नीति निर्माण, प्रशासनिक कार्यहरू र जनप्रतिनिधिहरूको व्यवहार नैतिक मूल्यमा आधारित हुँदा नागरिकमा विश्वास, स्थायित्व र सहकार्यको भावना उत्पन्न हुन्छ। पूर्वीय दर्शन, विशेषगरी हिन्दू, बौद्ध, जैन र अन्य प्राचीन दृष्टान्तहरूले देखाउँछन् कि समाजको मूल आधार नैतिकता र धर्मात्म कर्म हो। कुनै राष्ट्रले आफ्ना नागरिकलाई नैतिक शिक्षामा सक्षम बनाउँछ भने त्यो राष्ट्र केवल भौतिक दृष्टिले समृद्ध हुँदैन; यसले चेतनापूर्ण, करुणामय र जिम्मेवार नागरिक पनि उत्पादन गर्छ।

    नेपाल जस्ता बहुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्रमा नैतिक मार्गदर्शनको आवश्यकता अझ बढी हुन्छ। यहाँ सामाजिक असमानता, जातीय भेदभाव, भ्रष्टाचार र व्यक्तिगत स्वार्थले राष्ट्रलाई कमजोर बनाउन सक्छ। तर यदि नेतृत्व र नीति निर्माताहरू नैतिक मूल्यमा आधारित दृष्टिकोण अपनाउँछन् भने यी चुनौतीहरू पार गर्न सकिन्छ। उदाहरणका लागि, पारदर्शिता, न्यायपूर्ण शासन, भ्रस्टाचारमुक्त प्रशासन र समान अवसरको सुनिश्चितता राष्ट्रलाई सामाजिक दृष्टिले मजबुत बनाउँछ।

    नैतिक मार्गदर्शनले राष्ट्रमा नेतृत्वको गुणस्तरलाई पनि सुधार्छ। नेता सत्ता र प्रतिष्ठाका लागि नभई समाज र नागरिकको हितका लागि काम गर्ने बेला मात्र राष्ट्र स्थिर र सफल हुन्छ। भगवद्गीता, उपनिषद्, बौद्ध ग्रन्थ र अन्य पूर्वीय दर्शनहरूले नेतृत्वलाई धर्म, न्याय, त्याग र नैतिकता सँग जोडेर देखाएका छन्। जब नेता आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको भलाइको लागि काम गर्छन्, तब मात्र नीति स्थायी, न्यायपूर्ण र दीर्घकालीन प्रभावकारी हुन्छ।

    नैतिक मार्गदर्शनको अर्को महत्वपूर्ण पक्ष शिक्षा र नागरिक चेतना हो। राष्ट्रले युवालाई नैतिक मूल्य, सहिष्णुता, सामाजिक जिम्मेवारी र सत्यको महत्व सिकाउँछ भने नागरिक समाज स्वावलम्बी, सजग र न्यायप्रिय बन्छ। शिक्षाले मात्र ज्ञान प्रदान गर्दैन यसले चरित्र निर्माण र मूल्य प्रणालीको आधार पनि तयार पार्छ। जब नागरिक नैतिक रूपले सुदृढ हुन्छन्, तब उनीहरू व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा जिम्मेवार निर्णय लिन्छन्। यसले राष्ट्रलाई आन्तरिक स्थायित्व र सामाजिक सद्भाव प्रदान गर्छ।

    नैतिक मार्गदर्शनमा उभिएको राष्ट्रले कानून, नीति र प्रशासनलाई मात्र नियन्त्रणमा राख्दैन यसले समाजको मनोवृत्ति, व्यवहार र सांस्कृतिक मूल्यमा समेत स्थायित्व ल्याउँछ। उदाहरणका लागि, भ्रष्टाचारमुक्त प्रशासन, न्यायपूर्ण नीति, महिला सशक्तीकरण, सामाजिक समावेशिता र शिक्षा प्रणालीमा नैतिक मूल्यको समावेशले दीर्घकालीन सामाजिक सुधार ल्याउँछ। नागरिकको विश्वास र नेतृत्वको वैधता नै राष्ट्रको बल र स्थायित्वको आधार बनिन्छ।

    शिक्षा, धर्म, संस्कार र सामाजिक चेतनाका माध्यमबाट विवेकशील नागरिक तयार पार्न सकिन्छ। जब व्यक्तिहरू विवेक र नैतिकताको आधारमा व्यवहार गर्छन्, समाजमा भ्रष्टाचार, हिंसा, भेदभाव र अन्य सामाजिक विकृतिहरू घट्दै जान्छन्।यसरी हेर्दा विवेकपूर्ण सचेतना नै एक सशक्त, नैतिक र सभ्य समाज निर्माणको आधारस्तम्भ हो, जसले दीगो विकास र सामाजिक समरसता सुनिश्चित गर्न सक्दछ।

    सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ। सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।

    सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् ।

    नैतिकता सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो।  नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।

    आचरण कुनै पनि व्यक्तिको दैनिक गतिविधिहरू र क्रियाकलापमा लागू हुने मूल्य, मान्यता, र नैतिकताको समष्टि हो। यसले के ठीक छ र के गलत भन्ने कुरा निर्देशन गर्दछ। प्रशासकीय आचरण भनेको प्रशासकीय कार्यलाई प्रभावकारी रूपमा गर्नका लागि अवलम्बन गरिने मूल्य, नियम र कानुन हो। नैतिक आचरण जीवनको महत्वपूर्ण पक्ष हो, जसले मानिसलाई उच्च मूल्यांकनको अवसर दिन्छ। नैतिक आचरणको अभ्यासले सकारात्मक चिन्तन र कर्ममा विश्वास बढाउँछ र मनको स्थिरता राख्न मद्दत गर्छ।

    नैतिकता र आचरणमा सहनशीलता र धैर्यको अभ्यास गर्नु पर्छ, ताकि कलुषित विचारलाई हटाउन सकियोस। मनका इच्छा र कर्मलाई पवित्रतासँगै समायोजन गरेर सकारात्मक आचरण प्रदर्शन गर्नु महत्त्वपूर्ण छ। नैतिकता मानवको आचरणको मूल्यांकनको आधार बनाउँछ र यसले मानिसलाई आत्मसंयम र जिम्मेवारीको पाठ सिकाउँछ। समाजमा सकारात्मक परिवर्तन् ल्याउने सोच र चिन्तनले नैतिक आचरणलाई बलियो बनाउन मद्दत गर्छ।

    सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारी स्पष्ट पार्ने, कार्यसम्पादन सूचक निर्धारण गर्ने, सेवा बडापत्र लागू गर्ने, नागरिक सहभागिता र दबाब प्रणालीलाई सशक्त बनाउने जस्ता उपायहरू अपनाइन्छन्। नागरिक चेतना, लोकतन्त्रको विकास र प्रविधिको प्रयोगले पनि सार्वजनिक प्रशासनलाई नैतिक र सदाचारी बनाउन सहयोग पुर्याएको छ।

    नैतिक मार्गदर्शन बिना राष्ट्र दीर्घकालीन विकासमा असफल हुन्छ। भ्रष्टाचार, अन्याय, असमानता र स्वार्थले सामाजिक ढाँचामा अविश्वास, हिंसा र अस्थिरता सिर्जना गर्छ। उदाहरण स्वरूप, भ्रष्टाचारयुक्त प्रशासनले नीति कार्यान्वयनमा बाधा पुर्‍याउँछ र आर्थिक र सामाजिक विकासमा ढिलाइ गर्छ। यसरी राष्ट्रले नैतिकता अपनाउन नसक्दा सामाजिक मूल्यहरू क्षरण हुन्छन् र नागरिकको जीवनस्तर घट्छ।

    नैतिक मार्गदर्शनको अभ्यासले राष्ट्रमा सामाजिक सद्भाव र परोपकारको भावना पनि विकास गर्छ। जब समाज नैतिक मूल्यमा आधारित हुन्छ, तब नागरिक एकअर्काको अधिकारको सम्मान गर्छन्, सामूहिक हितको पक्ष लिन्छन् र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको भलाइको लागि काम गर्छन्। यसले मात्र राष्ट्रलाई स्थायी, समृद्ध र न्यायपूर्ण बनाउँछ।नैतिक मार्गदर्शनमा उभिएको राष्ट्र भनेको केवल कानून र प्रशासनको सन्दर्भमा मात्र होइन; यो सम्पूर्ण सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संरचना नै नैतिक मूल्यमा आधारित छ भन्ने हो। नेता, शिक्षक, नागरिक र सबै सामाजिक संस्थाले नैतिक मूल्य अपनाए मात्र राष्ट्र स्थिर, समृद्ध र मानवतामूलक बन्न सक्छ।

    सार्वजनिक सेवा वितरणमा नैतिकता र सदाचारयुक्त नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ। यसले कर्मचारीमा आत्मनियन्त्रण र उत्प्रेरणा बढाउँछ, ढिलासुस्ती, भ्रष्टाचार, र अधिकार दुरुपयोग जस्ता समस्यालाई निरुत्साहित गर्छ। यस्तो नेतृत्वले सेवा निष्पक्ष, छरितो र प्रभावकारी बनाउँछ। गोपनीयता, विश्वसनीयता र विकास निर्माणको कार्यमा समेत नैतिक आचरण अति आवश्यक हुन्छ। नैतिक मार्गदर्शनमा उभिएको राष्ट्र स्थिर, न्यायपूर्ण, सामाजिक सद्भाव र दीर्घकालीन विकासको आधार हो। नैतिक मूल्य, धर्मात्म कर्म, शिक्षा, पारदर्शिता, नेतृत्व र नागरिक चेतना जस्ता तत्वहरूलाई आत्मसात गरे मात्र राष्ट्रले वास्तविक समृद्धि, स्थायित्व र मानव कल्याण सुनिश्चित गर्न सक्छ। आजको समाजमा जहाँ भ्रष्टाचार, असमानता र स्वार्थ प्रबल छन्, त्यहाँ नैतिक मार्गदर्शनले मात्र राष्ट्रलाई सही दिशा देखाउँछ र भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। राष्ट्रको आधार नैतिकता हो र यसको पालना नै दीर्घकालीन शान्ति, समृद्धि र मानवताको सुनिश्चितता हो।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)