काठमाडौँ– संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन्। शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन्।
तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन पुगेका छन्।
‘काठमाडौँमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ। हामीले अब तपाँई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन। त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने।
उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन्।