महानिरीक्षक कार्कीले भने:‘सरकारको निर्णय नेपाल प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो’ - Chaitanya News
  • 2026-04-24
  • 11:05:10
  • शुक्रबार,बैशाख ११, २०८३
  • महानिरीक्षक कार्कीले भने:‘सरकारको निर्णय नेपाल प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो’

    महानिरीक्षक कार्कीले भने:‘सरकारको निर्णय नेपाल प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो’

    काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन्।

    २१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवाससँगै जोडिएको प्रहरी एकेडेमीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याएको थियो।

    प्रहरी महानिरीक्षक कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारबाट भएको उक्त निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

    सरकारले १० वैशाखमा प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम रहने निर्णय गरेको थियो।

    ‘नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्त्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो,’ महानिरीक्षक कार्कीले फेसबुकमा लेखेका छन्, ‘यो निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।’

    उनले आगामी दिनहरूमा समेत संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर सहयोग र अभिभावकत्व प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

    प्रतिष्ठानको जग्गा संरक्षण र फिर्ता ल्याउने कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आउने अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूको योगदानको पनि उनले स्मरण गरेका छन्।