कोलकाता– भारतमा बिहीबारबाट महत्त्वपूर्ण मानिएका राज्यस्तरीय निर्वाचन सुरु हुँदैछन्। विशेषगरी पश्चिम बंगाल र तमिल नाडुमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा उच्च महत्त्वका साथ हेरिएको छ।
भाजपाका लागि यी निर्वाचन संघर्षरत क्षेत्रहरूमा आफ्नो पहुँच विस्तार गर्ने परीक्षा हुन् भने विपक्षी दलहरूका लागि भाजपाको दबदबालाई चुनौती दिन सक्ने वा नसक्ने जाँच्ने अवसर हुन्। यसअघि केरला, आसाम र पुडुचेरीमा मतदान भइसकेको छ।
पश्चिम बंगालमा सबैभन्दा कडा टक्कर हुँदैछ, जहाँ पहिलो चरणमा १६ जिल्लाका १५२ सिटका लागि मतदान हुँदैछ। यस चरणमा १,४७८ उम्मेदवार चुनावी मैदानमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले मुख्यमन्त्री ममता बनर्जीलाई सत्ताबाट हटाउन आक्रामक रणनीति अपनाएको छ।
बनर्जीको तृणमूल कंग्रेस (टीएमसी)लगातार चौथो कार्यकालको खोजीमा छ भने भाजपा यस राज्यमा पहिलोपटक सत्ता कब्जा गर्ने दाउमा छ। दोस्रो चरणको मतदान आगामी साता हुनेछ।
पश्चिम बंगालको चुनाव मतदाता सूची परिमार्जनको ठुलो विवादबिच भइरहेको छ। विशेष सघन परिमार्जन (एसआईआर) अभ्यासपछि करिब ९० लाख मतदाता (राज्यको कुल मतदाताको करिब १२ प्रतिशत) को नाम सूचीबाट हटाइएको छ।
अधिकारीहरूले उनीहरूलाई अनुपस्थित वा मृत भनी वर्गीकरण गरेका छन्। साथै, थप २७ लाख मतदाताको अवस्था अझै समीक्षाको क्रममा छ। भारतको निर्वाचन आयोगले यो कदम मतदाता सूची सफा गर्ने उद्देश्यले गरिएको दाबी गरे पनि यसले कानुनी चुनौती र ठूलो विवाद निम्त्याएको छ।
वैध कागजात हुँदाहुँदै पनि नाम हटाइएको भन्दै प्रभावित परिवारहरूले चिन्ता व्यक्त गरेका छन्। मोदी लगायतका नेताहरूले ‘अवैध बंगलादेशी घुसपैठिया’लाई लक्षित गरी सूची सफा गरिएको जस्ता अभिव्यक्ति दिएपछि तनाव झनै बढेको छ। टीएमसीले यसलाई मुस्लिमहरूलाई लक्षित गरिएको भनेर आरोप लगाएको छ, यद्यपि अधिकारीहरूले सूचीबाट हटाइएकामा धेरै हिन्दूहरू पनि रहेको बताएका छन्।
चुनावमा हिंसा र धाँधली रोक्न पश्चिम बंगालमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। करिब २ लाख ४० हजार केन्द्रीय सुरक्षाकर्मी परिचालन गरिएको छ भने बुलेटप्रुफ गाडीहरूले गस्ती गरिरहेका छन्।
निर्वाचन आयोगले सुरक्षा सुनिश्चित गर्न कडा प्रतिबन्धहरू लगाएको छ। यसअन्तर्गत बाइक र्याली गर्न, दिउँसो दुईपांग्रे सवारीमा पछाडि मान्छे राख्न र राति अत्यावश्यक बाहेकका दुईपांग्रे सवारी चलाउन रोक लगाइएको छ। यसका साथै, सामान्यतया ४८ घण्टा हुने मदिरा बिक्री प्रतिबन्धलाई बढाएर ९६ घण्टा पुर्याइएको छ।
पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले मदिरा पसलहरूमा बिक्री ३० देखि २४० प्रतिशतसम्म बढेको र यो मदिरा मतदातालाई प्रलोभनमा पार्न प्रयोग नहोस् भनेर प्रशासनले कडा निगरानी गरिरहेको प्रष्ट पारेका छन्। यस्तो कार्यमा कुनै सरकारी कर्मचारी संलग्न भएको पाइए कडा कारबाही गर्ने उनले चेतावनी दिएका छन्।
बिहीबारको मतदान पश्चिम बंगालका उत्तरी, मध्य र दक्षिण(पश्चिमी क्षेत्रमा हुँदैछ, जुन राज्यका कम विकसित र गरिब क्षेत्र मानिन्छन्। यी क्षेत्रहरूमा मुस्लिम, आदिवासी र तल्लो जातका हिन्दूहरूको बाहुल्यता छ। मुर्शिदाबाद, उत्तर दिनाजपुर र माल्दा जस्ता मुस्लिम बहुल जिल्लाहरूमा पनि यही चरणमा मतदान भइरहेको छ।
रेकर्डमा ‘तार्किक विसंगति’ भएको भन्दै हटाइएका २७ लाख मतदातामध्ये ठूलो हिस्सा यिनै क्षेत्रका छन्। दोस्रो चरणको मतदान अप्रिल २९ मा १४२ सिटका लागि हुनेछ, जसमा राजधानी कोलकाता र दक्षिण बंगालका टीएमसीका गढ मानिने क्षेत्रहरू समावेश छन्।
पश्चिम बंगालबाहेक तमिल नाडुको चुनावले पनि सबैको ध्यान तानेको छ। यहाँ ५ करोड ७० लाखभन्दा बढी मतदाता छन् र सबै २३४ सिटमा एकै चरणमा मतदान हुँदैछ।
यहाँ मुख्यतया दुई क्षेत्रीय पार्टीहरू द्रविड मुनेत्र कझगम ९डीएमके० र अल इन्डिया अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) बिच प्रतिस्पर्धा हुने गर्छ। हाल एमके स्टालिनको नेतृत्वमा डीएमके सत्तामा छ भने एआईएडीएमकेले भाजपासँग गठबन्धन गरेको छ।
यसपटक अभिनेताबाट नेता बनेका विजय र उनको पार्टी तमिलागा वेत्री कझगम (टीभीके) को प्रवेशले चुनावलाई त्रिपक्षीय बनाएको छ। क्षेत्रीय पहिचान र भाषिक गौरवको राजनीति हाबी हुने दक्षिण भारतमा आफ्नो प्रभाव बढाउन संघर्षरत भाजपाका लागि यहाँको सानो उपलब्धि पनि निकै महत्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ।