काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा अपांगतासम्बन्धी कानुनहरू परिमार्जन गर्ने तयारीअन्तर्गत तयार पारिएका विधेयक मस्यौदामाथि सार्वजनिक सुझाव माग गरेको छ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्ने उद्देश्यले तयार गरिएको विधेयकको प्रारूपबारे चासो राख्ने सबै पक्षलाई राय(प्रतिक्रिया दिन आग्रह गरेको हो।
जारी सूचना अनुसार प्रस्तावित संशोधनमा कानुनी व्यवस्थालाई थप प्रभावकारी र व्यवहारिक बनाउने प्रावधानहरू समावेश गरिएको जनाइएको छ। मस्यौदामा सरोकार राख्ने व्यक्ति, संस्था तथा विज्ञहरूको सहभागितामार्फत गुणस्तरीय सुझाव संकलन गर्ने उद्देश्यले यसलाई सार्वजनिक गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
इच्छुक सरोकारवालालाई निर्धारित समय सीमाभित्र आफ्ना सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ, जसका आधारमा अन्तिम विधेयकलाई परिमार्जन गरिने जनाइएको छ।