काठमाडौँ– इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ। इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ। फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो।
तर लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए। उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए।
इरानले भने युरेनियम अमेरिका लैजाने सहमति भएको भनेर ट्रम्पले झुटो बोलेको टिप्पणी गरेको थियो। साथै नाकाबन्दी हट्नुपर्ने माग राखेको थियो।
वार्तामा सहमति भएको र इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घन्टा नबित्दै पुनः तनाव चुलिएको छ। सहमतिको खबरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत घटेको थियो।
इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले टेलिभिजन अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज ‘इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको’ दाबी गरेका छन्। उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘अपरिपक्व र अज्ञानतापूर्ण निर्णय’ भन्दै आलोचना गरेका छन्।