काठमाडौँ– राहदानी र सवारी चालक अनुमति पत्र घरदैलोमै पुर्याउने कार्य प्रारम्भ भएको छ । आज (बिहिबार) देखि सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ गरेको हो।
शासकीय सुधारको एक सय दिने कार्यसूची अनुसार अत्यावश्यक सरकारी कागजात घरमै पुर्याउने योजना कार्यान्वयनमा आएसँगै नागरिकले राहत महसुस गर्न थालेका छन्।
गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको कार्ययोजना अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाको सक्रियतामा यो प्रक्रिया अघि बढेको हो। सञ्चार मन्त्री तिमिल्सिनाले हुलाक सेवा विभागलाई गृह मन्त्रालय र राहदानी विभागसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हाल मकवानपुर, म्याग्दी र डडेलधुरा लगायतका जिल्लामा यो सेवा परीक्षणका रूपमा सफलतापूर्वक सञ्चालन भइरहेको छ। अन्य जिल्लामा पनि स्थानीय आवश्यकता अनुसार कार्ययोजना निर्माण भइरहेको र राहदानी बनाउने समयमै सेवाग्राहीको पूर्ण ठेगाना संकलन गर्न थालिएको छ।
यसैबिच, म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बुधबार बेनी नगरपालिकाका वडा नम्बर २ र ६ मा आफैँ पुगेर ६ वटा राहदानी हस्तान्तरण गर्नुभएको छ। घरमै सेवा प्राप्त भएपछि सेवाग्राहीको समय, खर्च र झन्झट हटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यो पहलले लामो समयदेखि सुस्ताएको हुलाक सेवालाई पुनः सक्रिय र आधुनिक बनाउने अवसर समेत प्रदान गरेको छ। परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई अब सरकारी कुरियर सेवा का रूपमा रूपान्तरण गर्ने रणनीति सरकारले लिएको छ।
भौगोलिक विकटता र जनशक्ति व्यवस्थापन जस्ता चुनौतीका बावजुद सरकारले स्रोत साधनको परिचालन गर्दै यो सेवालाई देशव्यापी विस्तार गर्ने लक्ष्य राखेको छ। यो व्यवस्था पूर्णरूपमा लागु भएपछि नागरिकले सामान्य कामका लागि पनि सरकारी कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ।