काठमाडौं– बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिहरूले नागरिकताको निरन्तरता सुनिश्चित गर्न कानुनी व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । यस विषयमा उनीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
नागरिकता सम्बन्धी ऐनमा कुनै पनि नेपाली नागरिकले आफ्नो इच्छाले विदेशी नागरिकता लिएमा उसको वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ ।
यो प्रावधानले आफूहरू मार्कामा परेका ब्रिटिस गोर्खाहरूले बताएका छन्।
गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्केका ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी), युकेका अध्यक्ष थर्क राना भन्छन्, ‘यो व्यवस्थाले ब्रिटिस गोर्खा र तिनका सन्ततिलाई अन्याय गरेको छ।’
‘नागरिकता सम्बन्धी ऐनको प्रावधान संशोधन गर्नुपर्नेमा अध्यक्ष रानाको जोड छ। मौजुदा नागरिकता ऐनको दफा १० लाई संशोधन गरेर ‘७ नोभेम्बर १९४७ मा भएको त्रिपक्षीय सन्धि तथा अन्य सन्धि सम्झौताले व्यवस्था गरे अनुसार नेपाल र बेलायत सरकारको बन्दोबस्तमा भर्ती भई बेलायती सेनाबाट सेवा निवृत्त भएका तथा सेवारत गोर्खा साथै निजका सन्ततिहरूको हकमा भने उक्त दफा लागु हुने छैन। उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तर कायम रहन्छ’ भन्ने प्रावधान राख्नुपर्ने उनीहरूको माग छ।
रास्वपाको वाचापत्रमा ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने उल्लेख छ। यही कुरालाई आत्मसात गर्दै आफूहरूको माग सम्बोधन हुनुपर्ने माग लिएर गृहमन्त्रीलाई भेट्न पुगेको भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिए।
मन्त्री गुरुङले आफूहरूको मागलाई सकारात्मक रुपमा लिँदै कानून मन्त्रालयमार्फत् संसद्मा लगेर छलफल गरिने बचन दिएका थिए।
भेटबारे अध्यक्ष रानाले भने, ‘उहाँले आफ्नो पार्टीको वाचापत्रमै ‘एक पटकको नेपाली संधैको नेपाली भन्ने उल्लेख भएको स्मरण गर्नुभयो। हामीले गोर्खा सैनिक र अन्य गैरआवासीय नेपालको सन्दर्भ फरक हा्े, त्यसकारण हाम्रो नागरिकता सम्बन्धी माग जसरी पनि पुरा हुनुपर्छ भन्ने कुरा राख्यौं ।’