विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव - Chaitanya News
  • 2026-04-18
  • 18:11:03
  • शनिबार,बैशाख ०५, २०८३
  • विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

    विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठनसम्बन्धी सरकारी नीतिविरुद्ध जारी आन्दोलनप्रति समर्थन जनाएका छन्।

    उनले विद्यार्थी संगठनहरूले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिँदै थप सशक्त रूपमा अगाडि बढ्न आग्रह गरेका छन्। सरकारी नीति विरुद्धको असहमति जनाउँदै उनले उक्त कदमप्रति आपत्ति व्यक्त गरेका छन्।

    यस क्रममा उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’

    विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिकालाई उल्लेख गर्दै उनले हालको परिवर्तनमा ती संगठनहरूको योगदान रहेको बताएका छन्। साथै, विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने प्रयास भए त्यसको प्रतिकार हुने चेतावनी दिएका छन्।

    उनले विद्यार्थी संगठनहरूको गतिविधि सीमित वा नियन्त्रण गर्ने प्रयासले राजनीतिक तथा सामाजिक प्रभाव पार्न सक्ने संकेत गरेका छन्।