काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन्।
आज (आइतबार) वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन्।
विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन्।
‘हामीले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रुपमा विकास गर्नुपर्छ। यसले ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ,’ उनले भनिन्, ‘सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासको लागि आवश्यक नीति, ऐन र कानुनी सुधार गर्न प्रतिबद्ध छ।’
उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन्। यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ।
‘समयसापेक्ष सधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने वातवरण बनाउने र अनुसन्धानलाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो। युवाहरूलाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवर्द्धनतर्र्फ आर्कषित गर्नुपर्छ,’ उनले भनिन्।
अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरिन्।
विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ।
हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरूको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ। कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।