काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर सञ्चालित विमानस्थलहरूमा यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्न तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ।
आज (शुक्रबार) मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै विमानस्थलमा सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारको स्तर उकास्न २४ घण्टाभित्र आवश्यक काम कार्यान्वयन गर्न भनेको हो।
यात्रुहरूबाट प्राप्त गुनासा र सुझावलाई आधार मान्दै तत्काल सुधार अपरिहार्य देखिएको मन्त्रालयको निष्कर्ष छ। निर्देशनअनुसार स्तनपान तथा शिशु हेरचाहका लागि छुट्टै कक्षहरूलाई स्वच्छ, सुरक्षित र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन वा स्तरोन्नति गर्नुपर्नेछ। साथै, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक सेवा कक्षको व्यवस्था गर्न पनि भनिएको छ।
महिला यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै प्रमुख शौचालयहरूमा निस्शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। सरसफाइ व्यवस्थापनतर्फ दैनिक लगबुक प्रणाली लागू गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वच्छता कायम राख्ने तथा नियमित अनुगमन र अभिलेखीकरण सुनिश्चित गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
उक्त सुधार कार्यहरूको प्रगति विवरण, फोटोसहितका प्रमाण र सरसफाइ लगबुक २४ घण्टाभित्र मन्त्रालयमा इमेलमार्फत पेश गर्न भनिएको छ। निर्देशन कार्यान्वयनमा ढिलाइ वा बेवास्ता भए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यसैबीच, सेवा सुधारको अवस्थाबारे नागरिक तथा यात्रुहरूले ‘गुनासो वा तारिफ’ सम्बन्धी प्रतिक्रिया मन्त्रालयका सूचना अधिकारीको ह्वाट्सएप नम्बरमा पठाउन सक्ने व्यवस्था गरिएको छ।