काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि आर्थिक विकास र निजी क्षेत्रको प्रवर्द्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन्। राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले सङ्घीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताए।
उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताए। निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उनको भनाइ रहेको छ। ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औँल्याए । ठुला र गुणस्तरीय पूर्वाधार ९कनेक्टिभिटी०को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उनको भनाइ छ।
मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताए। गुणस्तरीय शिक्षा काठमाडौँ केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उनले जोड दिए।