‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा मन्त्री निशा मेहताको जोड - Chaitanya News
  • 2026-04-19
  • 18:40:45
  • आइतबार,बैशाख ०६, २०८३
  • ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा मन्त्री निशा मेहताको जोड

    ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा मन्त्री निशा मेहताको जोड

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एक अर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।

    आज (मंगलबार) विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताएकी हुन्।

    उनले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गरिन्।

    नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले पछिल्लो समय मानव र पशुपंक्षीबिचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताइन्। पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग र मस्तिष्क घातजस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

    यसैगरी, एन्टिमाइक्रोबियल औषधीको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठुलो संकट निम्त्याएको भन्दै उनले यसको समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताइन्।

    सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

    मन्त्री मेहताले जनस्वास्थ्य, कृषि, पशुपंक्षी र वातावरणीय अन्तरसम्बन्धका कारण स्वास्थ्य चुनौतीहरू थपिएको उल्लेख गर्दै रेबिज, किटजन्य रोग, वातावरणीय प्रदूषण तथा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको बताइन्।