काठमाडौं– शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चैतन्य एकेडेमीले नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रिताल लाई ‘असल शासन पैरवी सम्मान २०८२’ द्वारा सम्मानित गरेको छ। हिजो (शुक्रबार) इन्ड्रेणीको सभा हलमा आयोजित विशेष समारोहमा उनलाई नगद रु १ लाखसहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो।
चैतन्य एकेडेमी नेपालले प्रत्येक वर्ष सेमिनार आयोजना गरी प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष ‘जेनजी आन्दोलन’को प्रभावका कारण औपचारिक कार्यक्रम आयोजना गर्न नसकिएकाले वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिएको जनाइएको छ।
सङ्खुवासभाको खाँदबारीमा जन्मिएका तथा हाल काठमाडौं महानगरपालिका–७ का स्थायी बासिन्दा शारदा प्रसाद त्रितालले तीन दशकभन्दा बढी समय निजामती सेवामा योगदान दिएका छन्। सार्वजनिक प्रशासनमा इमान्दारिता, पारदर्शिता र उच्च नैतिक मूल्य कायम राख्दै काम गरेको व्यक्तित्वका रूपमा उनी परिचित छन्।
![]()
कार्यक्रममा एकेडेमीका संस्थापक तथा कार्यकारी निर्देशक गणेश जोशीले सार्वजनिक सेवामा सुशासन कायम गर्न निरन्तर योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्न पाउनु संस्थाका लागि गर्वको विषय भएको बताए। सम्मानपत्र वाचन गर्दै उनले त्रितालको स्वास्थ्य र दीर्घायुको कामना पनि व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल प्रसाद कोइराला ले त्रिताललाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा चैतन्य एकेडेमीले आगामी दिनमा पनि सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।
![]()
सम्मान ग्रहण गर्दै त्रितालले यस्तो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै भने, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण इमान्दार र प्रतिबद्ध निजामती सेवकहरूको सम्मान हो। मैले आफ्नो कार्यकालभर सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरेको थिएँ, र आगामी दिनहरुमा पनि यस्ता मूल्यहरूलाई प्रवर्द्धन गर्न निरन्तर लागिरहनेछु।”
यसअघि पनि उक्त सम्मान लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली र नेपाल सरकारका पूर्व मुख्य सचिव विमल प्रसाद कोइराला लाई प्रदान गरिसकेको एकेडेमीले जनाएको छ।
एक दशकभन्दा बढी समयदेखि चैतन्य एकेडेमीले निजामती सेवा तयारी तथा गुणस्तरीय शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
![]()
![]()
![]()
![]()