काठमाडौं– प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ।
एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए।
लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए।
सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ। यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। आज सरकारले निर्मम दमन गरिरहेको छ।’
‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उनले भने।